सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विद्यार्थीलाई संसदीय बहस तथा संसदीय गतिविधिबारे एकदिने प्रशिक्षण दिइएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजना तथा युएनडिपी संसद् सहयोग परियोजनाको सहकार्यमा सुर्खेत बहुमुखी क्याम्पसमा प्रशिक्षण सञ्चालन गरिएको हो ।
स्नातक तहमा अध्ययनरत विद्यार्थी सहभागी कार्यक्रममा लोकतान्त्रिक शासन व्यवस्था, संसदीय अभ्यास, खुला संसद् र कानुन निर्माण प्रक्रियाबारे जानकारी दिइएको थियो । कर्णाली प्रदेश सभा सचिवालयका शाखा अधिकृत राजेन्द्र पौडेलले प्रदेश सभाको संरचना, संसदीय गतिविधि तथा कानुन निर्माण प्रक्रियाका विषयमा प्रस्तुति दिएका थिए ।
पौडेलले संसद् जनप्रतिनिधिमार्फत जनताको आवाज उठाउने, कानुन निर्माण गर्ने तथा सरकारका कामको निगरानी गर्ने महत्वपूर्ण संस्था भएकाले युवाले संसदीय गतिविधिमा चासो राख्नुपर्ने बताए । डिबेट नेटवर्क नेपाल (डीएनएन) का कर्णाली प्रदेश संयोजक मनोज एमसीले विद्यार्थीलाई संसदीय बहसको अभ्यास गराएका थिए । उनका अनुसार बहसले विद्यार्थीमा आलोचनात्मक सोच विकास गर्नुका साथै समाजका विभिन्न विषय बुझ्न र प्रश्न गर्न सहयोग गर्छ ।
प्रशिक्षणपछि विद्यार्थीले नमुना संसदीय बहससमेत गरेका थिए । ‘यो सदन खुला संसद् हुनुपर्छ’ भन्ने विषयमा विद्यार्थी सत्ता पक्ष र प्रतिपक्षमा विभाजित भएर बहसमा सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले विद्यार्थीको बहस गर्ने शैली र प्रस्तुति प्रभावकारी रहेको बताए । उनले युवालाई प्रदेश सभाका गतिविधिबारे जानकारी लिन र संसदीय अभ्यासलाई नजिकबाट बुझ्न आग्रह गरे ।
संसदीय मामिला पत्रकार समाजका अध्यक्ष देव रानाले लोकतन्त्रलाई बलियो बनाउन नागरिक र संसद्बीच संवाद तथा सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य तुलसा मल्ल, युएनडिपी संसद् परियोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेश प्रतिनिधि क्यारीना श्रेष्ठलगायतको सहभागिता थियो ।









