सागर रावल अछाम । पञ्चदेवल विनायक नगरपालिकामा नगर सभापति चयनका लागि मतदान प्रक्रिया सुरु नगरी क्षेत्रीय अधिवेशनको उद्घाटन प्रक्रिया सम्पन्न गरिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ।

नगरपालिकाको नेतृत्व चयनका लागि सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेलाई जिम्मेवारी दिइएको भए पनि नगर सभापति पदमा आफूअनुकूल नेतृत्व नआउने अवस्था देखिएपछि मतदान तथा सहमतिको प्रक्रियालाई बेवास्ता गरिएको प्रतिनिधिको आरोप छ।यद्यपि, यसबारे चलाउनेको औपचारिक धारणा सार्वजनिक भएको छैन।
सहमतिको प्रयासका लागि जिल्ला सभापति पुष्पबहादुर शाहले समेत सामान्य सोधपुछबाहेक ठोस पहल नगरेको प्रतिनिधिहरूको गुनासो छ।
नगर सभापति पदका लागि वडा अध्यक्ष कमलबहादुर रावल, प्रजापति जैसी र बलराम बिष्ट आकांक्षी रहेका छन्। कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरणमा बलराम बिष्टलाई सहमहामन्त्री अम्बिका चलाउने र सुरतबहादुर बिष्टको समर्थन रहेको बताइएको छ। कमल रावललाई उपमेयर हर्क रावलको तथा प्रजापति जैसीलाई वेदप्रकाश तिमिल्सैनाको समर्थन रहेको बताइएको छ।
क्षेत्रीय अधिवेशनमा आफूअनुकूल परिणाम नआउने आकलनका कारण नगर सभापतिको निर्वाचन तथा सहमतिको प्रक्रिया टुंग्याउन ढिलाइ गरिएको र संयोजकको जिम्मेवारी पायकी सहमहामन्त्री अम्बिका चलाऊनेले जिम्मेवारी बाट पंछीन खोजेको केही प्रतिनिधिको दाबी छ।उनीहरूले नगर नेतृत्व चयनमा भएको ढिलाइले क्षेत्रीय अधिवेशनमाँ समेत भाग नलिने बताएका छन्।
यसैबीच कमल रावल समर्थक क्षेत्रीय प्रतिनिधिहरूले आजदेखि सञ्चालन हुने क्षेत्रीय अधिवेशन बहिष्कार गरेका छन्। उनीहरू नेपाली कांग्रेसको देउवा पक्षमा सहभागी हुने सम्भावना रहेको बताइएको छ।
नगर सभापति चयनमा देखिएको विवाद र आन्तरिक शक्ति संघर्षका कारण पञ्चदेवल विनायकमा कांग्रेसको नगर अधिवेशन प्रभावित भएको देखिएको छ।आरोप र दाबीबारे सम्बन्धित नेताहरूको औपचारिक धारणा आउन बाँकी छ।







