२०८३ असोज १३ , मंगलबार

नलगाडमा पहिलोपटक पालिकास्तरीय खानेपानी सुरक्षा योजना गोष्ठी



जाजरकोट । नलगाड नगरपालिकामा पहिलोपटक पालिकास्तरीय विस्तारित खानेपानी सुरक्षा योजना (WSP+++) सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । नलगाड नगरपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को सहजीकरणमा गोष्ठी आयोजना गरिएको हो।

नगरपालिकाभित्र सञ्चालित खानेपानी योजनालाई सुरक्षित, गुणस्तरीय, व्यवस्थित तथा दिगो बनाउने उद्देश्यले आयोजित गोष्ठीमा नगरपालिकाका सम्बन्धित शाखाका प्रतिनिधि, खानेपानी योजनाका प्रमुख, ग्रामीण मर्मत सम्भार कार्यकर्ता तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

गोष्ठीमा सुस्वा आयोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठ, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ र वास अधिकृत वीरेन्द्र बटालाले सहजीकरण गरेका थिए । सुशासन विज्ञ श्रेष्ठले खानेपानीको गुणस्तर, सुरक्षित खानेपानीको आवश्यकता तथा गुणस्तर कायम गर्न अपनाउनुपर्ने उपायबारे प्रस्तुति दिएका थिए । उनले खानेपानीको स्रोतदेखि उपभोक्ताको धारासम्म पानीको गुणस्तर कायम राख्न सम्भावित जोखिम पहिचान र न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले खानेपानी योजनाको दिगोपना, नियमित मर्मतसम्भार, योजना सञ्चालन तथा व्यवस्थापन र समुदायको सहभागितामार्फत दीर्घकालीन खानेपानी सेवा सुनिश्चित गर्ने विषयमा सहजीकरण गरेका थिए ।

वास अधिकृत वीरेन्द्र बटालाले नलगाड नगरपालिकाभित्र सञ्चालित खानेपानी योजनाको सुचारुपना, हालको सञ्चालन अवस्था तथा योजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन र सुधारका विषयमा जानकारी गराएका थिए ।

गोष्ठीमा खानेपानीको स्रोतदेखि उपभोक्ताको धारासम्म हुन सक्ने सम्भावित जोखिमको पहिचान, जोखिम न्यूनीकरण, खानेपानीको गुणस्तर सुनिश्चितता, योजनाको नियमित सञ्चालन तथा दिगो व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।

विस्तारित खानेपानी सुरक्षा योजनाले नगरपालिकाभित्रका खानेपानी सेवाको सुरक्षा, गुणस्तर र दिगोपना कायम गर्न स्थानीय तह, खानेपानी योजना र समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

गोष्ठीमार्फत खानेपानी योजनाको नियमित मर्मतसम्भार, प्रभावकारी व्यवस्थापन तथा सुरक्षित खानेपानी सेवाका लागि सरोकारवालाबीच साझा समझदारीसमेत विकास भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार