२०८३ असोज १३ , मंगलबार

मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने विना शाहीलाई उपचार खर्च जुटाउन समस्या



सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिका–५, डाँडापराजुल निवासी ३६ वर्षीया विना शाही गम्भीर स्वास्थ्य समस्याका कारण प्रदेश अस्पताल सुर्खेतको आईसीयूमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था संवेदनशील रहेको र तत्काल मिर्गौलासम्बन्धी शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ ।

उपचारबाट स्वास्थ्यलाभको सम्भावना रहे पनि परिवारको आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार खर्च जुटाउन समस्या भइरहेको छ । घरपरिवार र बालबच्चाको जिम्मेवारी सम्हाल्दै आएकी शाही अहिले गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी छन् ।

शाहीका श्रीमान् दीपक शाही श्रीमतीको उपचार तथा हेरचाहसँगै बालबच्चाको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि परिवारले स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभेच्छुक तथा सहयोगी मनहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

परिवारले विना शाहीको उपचार तथा जीवनरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको छ । प्राप्त सहयोग रकम उनको उपचार तथा आवश्यक शल्यक्रियामा खर्च गरिने जनाइएको छ । सहयोग गर्न चाहनेहरूले विना शाहीका अंकल सुरेन्द्रजंग शाहीको नाममा रहेको ग्लोबल आईएमई बैंक सुर्खेतको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

खातावालाको नाम : सुरेन्द्रजंग शाही
खाता नम्बर : ३१४०७०१०००६८२८
बैंक : ग्लोबल आईएमई बैंक, सुर्खेत
सम्पर्क : ९८५८०४१९६६

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार