२०८३ असोज १३ , मंगलबार

विश्व मुटु दिवसमा साइकल यात्रा, काँक्रेविहारमा सरसफाइ



सुर्खेत । विश्व मुटु दिवसको अवसरमा स्वस्थ मुटुको सन्देश प्रवाह गर्न सुर्खेतमा साइकल यात्रा तथा सरसफाइ कार्यक्रम गरिएको छ। ‘कार्यका लागि मुटुको प्रयोग गरौँ’ भन्ने मूल नाराका साथ हेप्पी सोउल्सको आयोजना तथा ‘द कर्णाली राइडर्स’को समन्वयमा असोज १३ गते कार्यक्रम गरिएको हो।


घण्टाघरबाट सुरु भएको साइकल यात्रा ऐतिहासिक तथा पर्यटकीय स्थल काँक्रेविहार पुगेर समापन भएको थियो। साइकल यात्रापछि सहभागीहरूले काँक्रेविहार परिसरमा सरसफाइसमेत गरेका थिए।
कार्यक्रममा हेप्पी सोउल्सका प्रतिनिधि तथा वरिष्ठ फिजिसियन डा. सरोज गिरीले व्यस्त जीवनशैली, मानसिक तनाव तथा अस्वस्थकर खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको बताउनुभयो। उहाँले नियमित शारीरिक अभ्यास तथा साइकल चलाउनेजस्ता गतिविधिले मुटुलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

त्यस्तै, द कर्णाली राइडर्सका अध्यक्ष विशाल केसीले साइकल यात्रा स्वास्थ्यसँगै वातावरण संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि पनि प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले स्वस्थ जीवनशैली र वातावरणीय स्वच्छताका लागि युवाहरूले साइकल संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले सडक सुरक्षा तथा ट्राफिक नियमको पालना गर्दै साइकल चलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले साइकल यात्रा र स्वस्थ जीवनशैलीबीचको सम्बन्धबारे समेत धारणा राख्नुभएको थियो।

मुटु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै ऐतिहासिक तथा सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका २१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार