२०८३ असोज १५ , बिहीबार

सुर्खेतका युवा उद्यमी बुढा दम्पतीद्वारा भोटोकोसी बाढी प्रभावितलाई ११ लाख सहयोग



सुर्खेत । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पु¥याउन सुर्खेतको विसी ग्रुपले ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विसी ग्रुपका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा आफू र आफ्नो व्यवसायको तर्फबाट सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको बुढाले बताए । गत १० भदौमा रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि प्रभावितको खोज, उद्धार तथा पुनर्निर्माणका लागि सरकारले राहत तथा सहयोग रकम जुटाइरहेको छ । यही अभियानमा विसी ग्रुपले पनि आफ्नो तर्फबाट रकम उपलब्ध गराएको हो । यो सहयोगमा बुढा र उनकी श्रीमती हिमकुमारी उपाध्यायले विभिन्न सरकारी निकायबाट प्राप्त पुरस्कार तथा सम्मानबापत पाएको रकमसमेत समावेश गरेका छन् ।

विसी ग्रुपकी निर्देशकसमेत रहेकी उपाध्यायले राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८, राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कार–२०८० र कर्णाली प्रदेश सरकारको उत्कृष्ट महिला उद्यमी सम्मान–२०८२ बाट प्राप्त एक–एक लाख रुपैयाँ राहत कोषमा दिएकी छन् । बाँकी रकम विसी ग्रुपअन्तर्गतका विभिन्न व्यवसायिक घरनाबाट जुटाइएको हो । भवानी छापाखानाबाट तीन लाख ११ हजार एक सय एक रुपैयाँ तथा गंगामाला ट्राभल्स एण्ड टुर्स, युगआह्वान राष्ट्रिय दैनिक/अल्फा कम्युनिकेशन कर्नर, रारा प्रिन्टिङ प्रेस प्रालि र एस मल्टिभिजनस प्रालिबाट एक–एक लाख रुपैयाँ सहयोग गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार