२०८३ असोज १५ , बिहीबार

सुर्खेत–२ मा कांग्रेस महाधिवेशन प्रतिनिधि चयन अनिश्चित, गुटगत विवाद चर्कियो



सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अनिश्चित बनेको छ । प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्का क्षेत्र नम्बर १ बाट निर्वाचित भए पनि क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोजेपछि कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा थप पेचिलो बनेको नेताहरूले बताएका छन् ।

क्षेत्र नम्बर २ अन्तर्गत वीरेन्द्रनगर–७ बाट प्रतिनिधि छनोट भएका खड्कासहित पूर्वमन्त्री हृदयराम थानी, कांग्रेस सुर्खेतका जिल्ला सचिव टोपबहादुर रावत र प्रदेश महामन्त्री निरञ्जन केसी एक समूहमा रहेको बताइएको छ । त्यस्तै केन्द्रीय सदस्यद्वय जानकी सिंह र तीर्थजंग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्वजिल्ला सभापति कमलराज रेग्मी, पूर्वमेयरद्वय देवकुमार सुवेदी र उपेन्द्र थापा तथा प्रतिनिधिसभाका उम्मेदवार नारायण कोइरालासहितका नेताहरू अर्को समूहमा रहेको कांग्रेस नेताहरूको भनाइ छ ।

दुई समूहबीचको मतभेदका कारण क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । प्रतिनिधि चयनका लागि पञ्चपुरी नगरपालिका–५, बाबियाचौर पुगेका नेता तथा कार्यकर्ताहरू असोज ११ गतेदेखि अन्योलमा रहेको स्थानीय नेताहरूले बताएका छन् ।

खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगको नतिजाअनुसार उनले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत–१ बाट २६ हजार ८९७ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

कांग्रेसभित्र भने खड्काको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीलाई लिएर विभिन्न धारणा सार्वजनिक भइरहेका छन् । एक महाधिवेशन प्रतिनिधिका दावेदारले क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित व्यक्ति क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्नुले थप गुटगत प्रतिस्पर्धा बढाएको दाबी गरे ।

उनले भने, निर्वाचन क्षेत्र १ बाट सांसद हुने तर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्दै गुट जमाउन खोज्नु माननीयज्यूको क्रियाकलाप ठिक देखिएन । उहाँको र हृदयराम थानीज्यूको कस्तो खालको तालमेल हो, कसैले बुझ्न सकेका छैनौँ ।

यता नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत जिल्ला निर्वाचन अधिकृतको कार्यालयले क्षेत्रीय निर्वाचन कार्यक्रम स्थगित गरेको छ । निर्वाचन अधिकृत उत्तमप्रसाद आचार्यले प्रतिकूल मौसमलगायतका कारण क्षेत्रीय अधिवेशन स्थगित गरिएको यसअघि जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार