बाजुरा । बाजुरामा बुधबार राति ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको धक्का जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका कार्यालय प्रमुख चिन्तामणि तिमिल्सेनाका अनुसार भूकम्पको धक्का महसुस भए पनि हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छैन।भूकम्पपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायले अवस्थाबारे जानकारी लिइरहेका छन्। हालसम्म जिल्लाको अवस्था सामान्य रहेको बताइएको छ।
बाजुरा भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील क्षेत्रमा पर्दछ। यसअघि पनि जिल्लामा विभिन्न समयमा भूकम्पका धक्का महसुस हुँदै आएका छन्। २०८० चैत २९ गते बिहान ३ः५३ बजे पनि बाजुरामा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो भूकम्पबाट क्षति नभए पनि भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्क रहन र भूकम्पका बेला अपनाउनुपर्ने सुरक्षा सावधानीबारे सचेत रहन आग्रह गरिएको छ।








