नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीको प्रतिनिधित्व गरिरहेको कर्णाली याक्सले रोकायालाई नगद २ लाख ५० हजार रुपैयाँसहित विशेष सम्मान प्रदान गरेको हो। कर्णालीको खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदान र नेपाली एथलेटिक्समा उनको लामो यात्राको सम्मानस्वरूप रोकायालाई उक्त अवार्ड प्रदान गरिएको हो। सम्मानपछि कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले रोकाया कर्णाली प्रदेशको गौरव मात्र नभई नेपाली खेलकुद क्षेत्रकै प्रेरणादायी व्यक्तित्व भएको बताए। उनले कठिन परिस्थितिका बीच पनि खेलकुद क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका रोकायाको योगदानको सम्मान हुनु कर्णालीका लागि गौरवको विषय भएको उल्लेख गरे।
सदस्य–सचिव चन्दले कर्णालीको शान र गौरवका रूपमा स्थापित रोकायालाई सम्मान गरेकोमा कर्णाली याक्सप्रति धन्यवादसमेत व्यक्त गरे। उनका अनुसार यस्ता सम्मानले खेलाडी तथा प्रशिक्षकको योगदानलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा लाग्न थप हौसला प्रदान गर्नेछ। त्यस्तै, नेपाल प्रिमियर लिगजस्तो राष्ट्रियस्तरको लोकप्रिय प्रतियोगितामार्फत कर्णालीमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्ने र उनीहरूलाई राष्ट्रिय मञ्चमा अवसर दिने कर्णाली याक्सको प्रयास पनि प्रशंसनीय रहेको चन्दले बताए।
हरि बहादुर रोकायाले कर्णालीको खेलकुद विकासका लागि लामो समयदेखि पुर्याउँदै आएको योगदानका कारण उनी प्रदेशकै खेलकुद इतिहासमा महत्वपूर्ण व्यक्तित्वका रूपमा चिनिन्छन्। उनको संघर्ष, समर्पण र खेलकुदप्रतिको निरन्तर लगावले कर्णालीका धेरै खेलाडी तथा नयाँ पुस्तालाई प्रेरणा दिँदै आएको छ। रोकायालाई प्रदान गरिएको यो सम्मान केवल एक व्यक्तिको सम्मान मात्र नभई कर्णालीको खेलकुद यात्रा, संघर्ष र योगदानको सम्मानका रूपमा समेत हेरिएको छ। यस्तो सम्मानले प्रदेशका खेलाडी, प्रशिक्षक र खेलकुदप्रेमीहरूमा नयाँ ऊर्जा थप्नुका साथै आगामी पुस्तालाई खेलकुदमा आफ्नो भविष्य खोज्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।








