काठमाडौं । बडादशैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिँदै गएसँगै अनलाइन किनमेल र सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढ्न थालेका छन्
विशेषगरी पोखरासहित देशका विभिन्न स्थानमा सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणलाई आकर्षक अफरको प्रलोभन देखाएर रकम असुल्ने प्रवृत्ति बढेपछि प्रहरीले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ। पछिल्लो समय घरबाटै मोबाइलमार्फत सामान खरिद गर्ने चलन बढिरहेको छ। यही प्रवृत्तिको फाइदा उठाउँदै ठगीमा संलग्न व्यक्तिहरूले फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा नक्कली पेज तथा आइडी बनाएर सस्तो मूल्यमा सामान उपलब्ध गराउने विज्ञापन गर्ने गरेका छन्। विज्ञापनमा विश्वास गरेर सम्पर्क गर्ने ग्राहकलाई अग्रिम रकम पठाउन लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने घटना बढिरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीसम्बन्धी उजुरी थपिँदै गएका छन्। चाडपर्वको समयमा अनलाइन किनमेल गर्नेको संख्या बढ्ने भएकाले ठगीका घटना अझ बढ्न सक्ने भन्दै प्रहरीले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार पोखरामा हालै एक व्यक्तिले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीमार्फत सामान खरिद गर्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाएका छन्। सुरुमा करिब ५ सय रुपैयाँको कुर्था खरिद गर्न खोज्दा पीडितलाई विभिन्न बहानामा पटक–पटक रकम पठाउन लगाइएको र अन्ततः ठूलो रकम ठगी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले धनगढीबाट १७ वर्षीय किशोरलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा देखिने अस्वाभाविक रूपमा सस्ता मूल्यका सामान, चाडपर्व लक्षित विशेष छुट तथा अन्य आकर्षक अफरमा तुरुन्तै विश्वास नगर्न आग्रह गरेको छ। विशेषगरी व्यक्तिगत पेज वा शंकास्पद टिकटक आइडीबाट सामान खरिद गर्दा थप सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।
अनलाइनमार्फत सामान खरिद गर्दा सम्भव भएसम्म सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्ने ‘क्यास अन डेलिभरी’ जस्ता सुरक्षित विकल्प प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ। साथै, अनलाइन पसल तथा विक्रेताको आधिकारिकता जाँच गर्ने, व्यवसाय दर्ता भए–नभएको बुझ्ने र अपरिचित व्यक्तिले पठाएका लिंक तथा भुक्तानी अनुरोधमा रकम नपठाउन पनि प्रहरीले आग्रह गरेको छ।
चाडपर्वको समयमा अनलाइन सपिङको आकर्षणसँगै ठगीको जोखिम पनि बढ्ने भएकाले उपभोक्ता स्वयं सचेत र सावधान हुनु आवश्यक देखिएको छ। ‘सस्तोमा पाइन्छ’ भन्ने लोभमा हतार गरेर अग्रिम रकम पठाउँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुनसक्ने भएकाले सामाजिक सञ्जालमा देखिने हरेक विज्ञापनलाई सत्य मानेर विश्वास नगर्नुहोस्।








