२०८३ असोज २२ , बिहीबार

चौकुनेमा प्रभावित व्यक्ति तथा मानवीय कार्यमा अपाङ्गता समावेशीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न



दिलिप कंडेल सुर्खेत । विपद् तथा मानवीय संकटका समयमा प्रभावित व्यक्ति र अपाङ्गता भएका नागरिकलाई केन्द्रमा राख्दै ‘प्रभावित व्यक्ति प्रति जवाफदेहिता तथा मानवीय कार्यमा अपाङ्गता समावेशीकरण’ सम्बन्धी दुई दिने तालिम चौकुने गाउँपालिकामा सम्पन्न भएको छ।

युनिसेफको आर्थिक सहयोग तथा चौकुने गाउँपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा सञ्चालन भएको तालिम गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सम्पन्न भएको हो। तालिममा चौकुने गाउँपालिकाका १ देखि १० वटै वडाका वडा अध्यक्ष, विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

विपद्को समयमा सबै नागरिकलाई समान रूपमा राहत, उद्धार तथा आवश्यक सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्दै तालिममा प्रभावित व्यक्तिप्रति जवाफदेहिता, अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान, पहुँचयुक्त सेवा प्रवाह तथा समावेशी विपद् व्यवस्थापनका विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो।

विशेषगरी विपद्का समयमा अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत बढी जोखिममा रहेका समुदायलाई थप सहयोग र प्राथमिकता आवश्यक पर्ने भएकाले स्थानीय तहले योजना निर्माणदेखि कार्यान्वयनसम्म समावेशी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिइएको थियो।

तालिममा ‘विपद्का बेला कोही पनि पछाडि नछुटून्’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।

दुई दिने तालिमले चौकुने गाउँपालिकामा विपद् व्यवस्थापन तथा मानवीय कार्यलाई थप समावेशी, जवाफदेही र नागरिकमैत्री बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

तालिमबाट प्राप्त ज्ञान र सीपलाई आगामी दिनमा स्थानीय तहका विपद् व्यवस्थापनसम्बन्धी योजना तथा कार्यक्रमहरूमा व्यवहारिक रूपमा लागू गर्ने अपेक्षा गरिएको छ। तालिमको सहजकर्ता युनिसेफ नेपालमा कार्यरत भूमि भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन विपद व्यवस्थापन शाखा प्रमुख पदमराज शर्माले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार