२०८३ असोज २२ , बिहीबार

गोली हानेर पक्राउ परेका आर्यन २७ वटा मुद्दाका प्रतिवादी



काठमाडौं । काठमाडौंको काँडाघारी क्षेत्रमा गोली चलाएर प्रहरीले पक्राउ गरेका लुटेरा समूहका मुख्य नाइके आर्यन माझी विगतमा पनि पटक–पटक आपराधिक घटनामा संलग्न रहेको खुलेको छ।

प्रहरी अनुसन्धानका क्रममा माझीविरुद्ध विभिन्न समयमा २७ वटा डाँका तथा चोरीसम्बन्धी मुद्दा रहेको पाइएको हो। प्रहरीले बुधबार राति करिब पौने १० बजे काँडाघारी क्षेत्रमा गोली चलाएर आर्यन माझीसहित तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका अन्य दुई जनामा मकवानपुरको बकैया गाउँपालिका–५ का राकेश थिङ र बकैया गाउँपालिका–७ का मनोज कुमार मोक्तान रहेका छन्।

प्रहरीका अनुसार माझी यसअघि विभिन्न समयमा जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा (काभ्रे) र जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। प्रहरी अनुसन्धानबाट पक्राउ परेका समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाट तथा चोरीका घटना गराउने गरेको खुलेको छ। उनीहरूले विशेषगरी सडकमा हिँडिरहेका सर्वसाधारणलाई लक्षित गरी सिक्रीलगायतका गरगहना लुट्ने तथा अन्य आपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ परेका तीनै जनाको आपराधिक गतिविधिबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार लुटपाटका क्रममा राकेश थिङ मोटरसाइकलको पछाडि बसेका थिए भने मनोज कुमार मोक्तान मोटरसाइकल चलाउँदै अगाडि रहेका थिए। उनीहरूलाई आपराधिक गतिविधि तथा कुटपिटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको र पक्राउ परेकाहरूको विगतको आपराधिक गतिविधिसमेत खोतल्ने काम भइरहेको प्रहरीले जनाएको छ। उनीहरूबाट भएका अन्य सम्भावित घटनाबारे समेत अनुसन्धानपछि थप तथ्य बाहिर आउने प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार