२०८३ असोज २२ , बिहीबार

समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध र विकसित नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने बताउनुभएको छ।

उहाँले राज्य, निजी क्षेत्र र समग्र समाजबीचको साझा राष्ट्रिय सङ्कल्प र सहकार्यबाट मात्रै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र नेतृत्वदायी भूमिकामा प्रस्तुत हुनुपर्ने बताउनुभयो। उहाँले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा समेत गर्नुभयो।

राष्ट्रपति पौडेलका अनुसार नेपालको अर्थतन्त्रलाई थप गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ। महासङ्घमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको आर्थिक प्रगतिसँग जोडिएको उल्लेख गर्दै उहाँले रोजगारी सिर्जना, आर्थिक विकास र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन तथा व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो। त्यसैगरी निजी क्षेत्रले लगानी विस्तार, उत्पादन वृद्धि, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा थप योगदान गर्नुपर्ने उहाँको भनाइ छ। सरकार र निजी क्षेत्रबीच विश्वास र सहकार्य बलियो बनाउन सके त्यसले मुलुकको आर्थिक समृद्धिका लागि बलियो आधार तयार गर्ने राष्ट्रपति पौडेलले बताउनुभयो।

उहाँले अब नेपालको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने दिशामा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो। नेपालमा प्रचुर सम्भावना रहेका जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रलाई परिणाममुखी ढङ्गले उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। विशेषगरी देशको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी तथा उद्यमका अवसर सिर्जना गर्नु सरकार, निजी क्षेत्र र समाज सबैको साझा दायित्व भएको राष्ट्रपति पौडेलले बताउनुभयो।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार