काठमाडौँ । नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडा महँगिएको गुनासो बढेपछि सरकारले चासो देखाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमत भएका छन्। हवाई भाडा अत्यधिक बढेको गुनासो आएपछि प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिनुभएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलका क्रममा यात्रुलाई राहत दिने उद्देश्यले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको क्यानले जनाएको छ। साथै, कम्पनीहरूले उपलब्ध गराउने छुट तथा नयाँ भाडादरबारे आफ्ना बिक्री तथा टिकट बुकिङ प्लेटफर्ममा स्पष्ट रूपमा सूचना प्रकाशित गर्नुपर्ने सहमति भएको छ।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सक्नेछन्। त्यस्तो भाडादर तथा उपलब्ध टिकटबारे यात्रुलाई सहज रूपमा जानकारी गराउन सम्बन्धित कम्पनीका बिक्री वितरण प्लेटफर्ममा सूचना राखिनेछ। चाडपर्वको समयमा हवाई यात्रुको चाप बढ्ने भएकाले भाडा वृद्धि हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै गरिएको यो सहमतिले यात्रुलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।








