२०८३ असोज २९ , बिहीबार

श्रम स्वीकृतिको बहानामा रकम असुलीको आरोप, हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने भन्दै रकम लिएको आरोपमा हिमालयन एअरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हिमालयन एअरलाइन्समा कार्यरत हंशराज जैशी रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको जनाएको छ । अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीका लागि विदेश जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद सकिएको थियो । सोही अवस्थामा पुनः श्रम स्वीकृति गराइदिने र यात्रामा सहजीकरण गर्ने भन्दै जैशीले रकम लिएको आरोप लागेको हो ।

यस विषयमा फोनमार्फत उजुरी प्राप्त भएपछि अध्यागमन कार्यालयले प्रारम्भिक छानबिन अघि बढाएको थियो । छानबिनका क्रममा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ रकम पठाइएको देखिएको अध्यागमन स्रोतले जनाएको छ । त्यसैगरी, विमानस्थलमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज जाँच गर्दा यात्रुलाई सहयोग गर्ने बहानामा जैशीले शङ्कास्पद गतिविधि गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनलाई विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको छ । उक्त घटनामा कर्मचारीमाथि रकम असुलीको आरोप लागेको हो । अन्तिम दोष निर्धारण भने अनुसन्धान र कानुनी प्रक्रियाबाट हुनेछ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार