जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२, गैरीगुवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप भित्री सडकखण्डबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३, स्यालाकी करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो।
दुर्घटनामा बिपनाका श्रीमान् दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुनिचाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन्। प्रहरीका अनुसार घाइते तीनै जनाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत लैजाने तयारी गरिएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।








