सर्लाही। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले बुधबार राति सर्लाहीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापा बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट पक्राउ परेका हुन्। उनी घरमा आएको सूचना पाएपछि खोजीमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिएका छन्। पक्राउ पर्ने क्रममा थापाको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। बरामद हतियार तथा गोलीका सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ। थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए। त्यसपछि उनी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले आफ्नो पहिचान लुकाउन भेष परिवर्तन गर्ने र आवश्यक पर्दा अरू व्यक्तिको मोबाइल प्रयोग गरेर सम्पर्क गर्ने गरेका थिए। यिनै सूचनाका आधारमा प्रहरीले उनको खोजीलाई निरन्तरता दिएको थियो।
न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो समयको खोजीपछि पक्राउ परेका थिए। प्रहरीले करिब दुई वर्ष सात महिनासम्म खोजी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। त्यतिबेला उनको पक्राउलाई प्रहरीको महत्त्वपूर्ण सफलताका रूपमा लिइएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले उनलाई सार्वजनिक गर्दा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसमेत उपस्थित भएका थिए। अर्यालले उक्त पक्राउलाई प्रहरीका लागि ठूलो उपलब्धिका रूपमा व्याख्या गरेका थिए। थापा चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए। पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशसँग जोडिएको न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएपछि उनी जन्मकैदको सजाय भोगिरहेका थिए।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरस्थित यूएन पार्क क्षेत्रमा गोली प्रहार गरी हत्या गरिएको थियो। बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्किरहेका बेला उनको गाडी रोकेर आक्रमण गरिएको थियो। प्रहरी अनुसन्धानले चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई हत्याको पृष्ठभूमिसँग जोडेको थियो। पार्टीको नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेपछि आयोगले केशव मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएको थियो। उक्त निर्णयविरुद्ध मैनाली सर्वोच्च अदालत पुगेका थिए। त्यसपछि न्यायाधीश बमको एकल इजलासले थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
अनुसन्धानका क्रममा अदालतको उक्त आदेशबाट आफ्नो राजनीतिक भविष्यमा असर पर्ने ठानेर हत्या योजना बनाइएको निष्कर्ष निकालिएको थियो। तत्कालीन अनुसन्धान अधिकारीहरूले पनि पार्टीभित्रको विवाद र अदालतको आदेशलाई घटनाको पृष्ठभूमिका रूपमा प्रस्तुत गरेका थिए। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि थापा पुनः प्रहरीको खोजी सूचीमा परेका थिए। अन्ततः प्रहरीले सर्लाहीस्थित उनको घरबाट उनलाई पक्राउ गरेको हो। उनको साथबाट हतियार र गोलीसमेत बरामद भएपछि प्रहरीले थप कानुनी अनुसन्धान अघि बढाउने जनाएको छ।








