गुल्मीे। गुल्मीको मालिका गाउँपालिकामा कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्लाको मालिका गाउँपालिका–२, खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नी ४२ वर्षीया भाउजू लिला खत्रीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। असोज २५ गते भएको कुटपिटबाट लिलाको टाउकोमा चोट लागेको थियो। घाइते लिलालाई उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल लगिएको थियो। उपचारपछि असोज २८ गते घर फर्काइएको भए पनि उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएको बताइएको छ।
घर फर्काउने क्रममा घटनाको अवस्थाबारे शंका उत्पन्न भएपछि उनलाई गुल्मी अस्पतालमा जाँच गरिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्। मृतकको शव पोस्टमार्टमपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बलबहादुर खत्रीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको विस्तृत विवरण तथा कुटपिटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








