सल्यान । कार्यसम्पादनमा उत्कृष्टता र नयाँ अभ्यासमार्फत सेवा प्रवाहमा सुधार गरेको भन्दै जिल्ला हुलाक कार्यालय सल्यान देशभरका चार नमुना हुलाक कार्यालयमध्ये छनोट भएको छ ।
१५२औँ विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले सल्यानसहित देशका चार जिल्ला हुलाक कार्यालयलाई नमुना कार्यालयका रूपमा छनोट गरी सम्मान गरेको हो । हुलाक सेवा विभागद्वारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यालयको कार्यसम्पादन, सेवा प्रवाहको प्रभावकारिता तथा नवीन कार्यशैली अपनाउन गरिएको प्रयासलाई मूल्याङ्कन गर्दै नमुना कार्यालयका रूपमा छनोट गरिएको जनाइएको छ । जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुखसमेत रहनुभएका रेग्मीले यो उपलब्धि जिल्लामा कार्यरत सम्पूर्ण हुलाककर्मीको सामूहिक मेहनत र योगदानको परिणाम भएको बताउनुभयो । कार्यालयले आगामी दिनमा हुलाक सेवालाई अझ व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।








