कञ्चनपुर । तिब्बती भाषा अध्ययन गराउने भन्दै भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासाबाट उद्धार गरी नेपाल फर्काइएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारततर्फ लगेका थिए । बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई रोकेर नेपाल फर्काएका हुन् । भारतबाट फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले उनीहरूलाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
बालबालिकालाई तिब्बती भाषा पढाउन देहरादुन लैजान लागिएको भनिए पनि त्यहाँ कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन । साथै, उनीहरूलाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।








