काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका छोरा मो. फिरदोस आलम पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट फिरदोस मधेशी क्लस्टरतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ । फिरदोस गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट निर्वाचित भएका थिए । उनले २९ हजार ५२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए । उक्त निर्वाचनमा उनी मधेश प्रदेशबाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुने एक्ला उम्मेदवार बनेका थिए ।
उनका पिता अफताव आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका नेता थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यससँग जोडिएको हत्याकाण्डको घटनाका कारण चर्चामा आएका थिए । उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो । तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो । सफाइपछि जेलमुक्त भएका आलमको २०८२ कात्तिक २१ गते काठमाडौंमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो ।








