चितवन । नारायणी नदीमा खुट्टा धुने क्रममा डुबेर आमा र उनका ६ वर्षीय छोरा बेपत्ता भएका छन्। घटनामा परेकी ११ वर्षीया छोरीको भने प्रहरीले सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा खैरहनी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१२, मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल रहेका छन्। उनीहरू भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडिको नारायणी नदी किनारमा खुट्टा धुने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन्। घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ। बेपत्ता आमा र छोराको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार








