२०८३ असोज २९ , बिहीबार

रास्वपाका उम्मेदवारका लागि वैवाहिक अवस्था, आर्थिक पारदर्शिता र आचरणसम्बन्धी मापदण्ड प्रस्ताव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि वैवाहिक अवस्था, आर्थिक पारदर्शिता तथा व्यक्तिगत आचरणसँग सम्बन्धित मापदण्ड प्रस्ताव गरेको छ।

पार्टीले तयार पारेको उम्मेदवार छनोटसम्बन्धी प्रस्तावित मापदण्डमा उम्मेदवारको पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा वैध र स्पष्ट हुनुपर्ने उल्लेख छ। उम्मेदवार बन्न चाहने व्यक्तिले आफ्नो वैवाहिक अवस्था कानुनी रूपमा सही रहेको स्वघोषणा गर्नुपर्ने र यससम्बन्धी कुनै तथ्य नलुकाइएको सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, उम्मेदवारको आर्थिक गतिविधि पारदर्शी हुनुपर्ने विषयलाई पनि पार्टीले प्राथमिकता दिएको छ। प्रस्तावअनुसार मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डी तथा सहकारीको बचत अपचलनजस्ता अवैध वा अनौपचारिक आर्थिक कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ।

व्यक्तिगत आचरणलाई समेत उम्मेदवार छनोटको महत्त्वपूर्ण आधार बनाउने प्रस्ताव गरिएको छ। घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार तथा सार्वजनिक स्थानमा अमर्यादित व्यवहारमा संलग्न नभएको व्यक्ति उम्मेदवार बन्न योग्य हुने मापदण्डमा उल्लेख छ। यसैगरी, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोगलाई रोक्ने उद्देश्यले साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी र अन्य डिजिटल दुव्र्यवहारमा संलग्न नरहेको स्वघोषणा पनि उम्मेदवारले गर्नुपर्ने प्रस्ताव गरिएको छ। रास्वपाको प्रस्तावित मापदण्डले उम्मेदवारको कानुनी हैसियत, आर्थिक स्वच्छता र व्यक्तिगत आचरणलाई छनोट प्रक्रियामा महत्त्व दिने देखिएको छ। यद्यपि, यी व्यवस्था हाल प्रस्तावका रूपमा रहेका छन्।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार