मुगु । जातीय विभेद तथा सामाजिक कुरीति अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले मुगुको छायानाथ रारा नगरपालिकाले दुई जोडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको छ।
नगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा अन्तरजातीय विवाह गरेका दुवै जोडीलाई एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। नगरप्रमुख विष्णुकुमार भामका अनुसार प्रोत्साहन रकम प्राप्त गर्नेमा छायानाथ रारा नगरपालिका–१३, थार्प गाउँका विक्रम नेपाली र पवित्रा चौलागाई तथा वडा नम्बर १०, झाकोट गाउँका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका छन्। नगरप्रमुख भामले नगरपालिकाको दलितसम्बन्धी कार्यविधिअनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म चार जोडीले अन्तरजातीय विवाह गरेका छन्।
प्रोत्साहन रकम प्राप्त गर्ने विक्रम नेपालीले पछिल्लो समय समाजमा अन्तरजातीय विवाहप्रतिको सोचमा सकारात्मक परिवर्तन आएको बताउनुभयो। उहाँले चौलागाई समुदायकी पवित्रासँग विवाह गर्दा परिवार र माइती पक्षबाट सहजै स्वीकार गरिएको जानकारी दिनुभयो। विक्रमकी श्रीमती पवित्रा चौलागाईले पनि चाडपर्वलगायत विभिन्न अवसरमा माइतीघर जाने गरेको बताउनुभयो। अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक प्रोत्साहन दिने नगरपालिकाको कार्यक्रमले समाजमा विद्यमान जातीय विभेद, छुवाछुत र सामाजिक असमानता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले अन्तरजातीय विवाहप्रति सामाजिक स्वीकार्यता बढाउन र समानता तथा सद्भाव प्रवर्द्धन गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।








