२०८३ कात्तिक ९ , सोमबार

हुम्लाको श्रीनगरमा परम्परागत घरको विशेषता, एउटै छानामुनि मानिस र पशु



हुम्ला। हुम्लाको अदानचुली गाउँपालिका–३ श्रीनगरमा परम्परागत आवास शैली अझै कायम छ।

माटो र ढुङ्गाबाट बनेका घर, समथर छत र एकआपसमा जोडिएका बस्तीले यहाँको मौलिक संस्कृति र जीवनशैली झल्काउँछन्। तर, एउटै घरमा मानिस र पशुचौपाया राख्ने चलनले सरसफाइ तथा दैनिक व्यवस्थापनमा समस्या सिर्जना गरिरहेको स्थानीय बताउँछन्। अदानचुली गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको श्रीनगरमा घरको भुइँतला पशुचौपाया राख्न, माथिल्लो तला मानिस बस्न र छत अन्न सुकाउन तथा भण्डारण गर्न प्रयोग गरिन्छ। सीमित समथर जमिन र भिरालो भूगोलका कारण यहाँ उपलब्ध ठाउँको अधिकतम उपयोग हुने गरी घर निर्माण गरिएको देखिन्छ।

स्थानीय सामग्री माटो र ढुङ्गाको प्रयोगबाट बनेका घर यहाँको परम्परागत वास्तुकलाका उदाहरण हुन्। पुस्तौँदेखि चलिआएको यो आवास शैली स्थानीयको खेतीपाती, पशुपालन र दैनिक जीवनसँग नजिकबाट जोडिएको छ। स्थानीय मनरुप परियारका अनुसार घर निर्माण र प्रयोगको परम्परागत शैली लामो समयदेखि चल्दै आएको छ। छतमा कृषि उपज सुकाउने तथा भण्डारण गर्ने र भुइँतलामा पशुचौपाया राख्ने व्यवस्था स्थानीय जीवनशैलीको अभिन्न हिस्सा बनेको छ।

तर, एउटै संरचनाभित्र मानिस र पशु राख्नुपर्ने अवस्थाले सरसफाइमा चुनौती थपेको छ। स्थानीय रामबहादुर महतराका अनुसार छुट्टै गोठको अभावमा घरको सफाइ र दैनिक व्यवस्थापन गर्न कठिन हुने गरेको छ। त्यस्तै, स्थानीय कालिबहादुर नेपाली पनि पशुचौपायाका लागि छुट्टै गोठ नहुँदा विभिन्न समस्या भोग्नुपरेको बताउँछन्। परम्परागत आवास शैली कायम रहे पनि समयअनुसार सरसफाइ र व्यवस्थित बसोबासको आवश्यकता बढ्दै गएको उनको भनाइ छ।

श्रीनगरका परम्परागत घर बसोबासका संरचना मात्र होइनन्, स्थानीय समुदायको इतिहास, सीप र सांस्कृतिक पहिचानका प्रतीक पनि हुन्। घर निर्माणमा स्थानीय सामग्रीको प्रयोग र उपलब्ध भूगोलअनुसार संरचना तयार गर्ने शैली यहाँको मौलिक विशेषता हो। यद्यपि, बदलिँदो समयसँगै सुरक्षित र व्यवस्थित आवासको आवश्यकता पनि बढेको छ। पशुचौपायाका लागि छुट्टै गोठ, घरभित्र सरसफाइको उचित प्रबन्ध र सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने आवश्यकता स्थानीयले औँल्याएका छन्।

परम्परागत घरलाई पूर्ण रूपमा विस्थापित गर्नुभन्दा मौलिक वास्तुकला जोगाउँदै आवश्यक सुधार गर्नु उपयुक्त हुने देखिन्छ। स्थानीय सामग्रीको प्रयोग, प्राविधिक सहयोग र परम्परागत शैलीसँग मेल खाने नयाँ संरचनाले आवासलाई थप व्यवस्थित बनाउन सक्ने सम्भावना छ।यसका लागि स्थानीय तहले बस्तीको मौलिकता संरक्षण, सरसफाइ सुधार र पशुपालन व्यवस्थापनलाई समेटेर योजना बनाउन आवश्यक देखिन्छ।

श्रीनगरको परम्परागत आवास शैलीले हुम्लाको सांस्कृतिक पहिचान र स्थानीयको जीवनपद्धति उजागर गर्छ। त्यसैले यसको संरक्षणसँगै स्थानीयले भोग्दै आएका सरसफाइ र आवाससम्बन्धी समस्या समाधान गर्न सके परम्परा र आधुनिक आवश्यकताबीच सन्तुलन कायम गर्न सकिनेछ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार