पश्चिम सुर्खेतका नागरिकका लागि सडक र पुल केवल भौतिक पूर्वाधार होइनन्, वर्षौंदेखिको सास्ती, अभाव र राज्यको उपेक्षाबाट मुक्ति पाउने आशाका आधार हुन् । बर्खामा खोलाको भेलले आवागमन ठप्प हुने, बिरामीले समयमै उपचार नपाउने र किसानका उत्पादन बजारसम्म पु¥याउन नसक्ने बाध्यताले यस क्षेत्रको विकासलाई लामो समयसम्म पछाडि धकेल्यो । अहिले मदन भण्डारी राजमार्गअन्तर्गत सडक स्तरोन्नति, कालोपत्रे र पक्की पुल निर्माणले गति लिनु भनेको यहाँका नागरिकको जीविका सहज हुने संकेत हो । बराहताल, पञ्चपुरी र चौकुनेलगायत क्षेत्रलाई सहज यातायातसँग जोड्ने यी आयोजनाले स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछन् । सडक सञ्जाल विस्तार भएपछि शिक्षा, स्वास्थ्य, व्यापार र रोजगारीका अवसरमा पहुँच बढ्नेछ । कृषि उपज, फलफूल, तरकारी तथा पशुजन्य उत्पादनले बजार पाउनेछन् । यसले किसानको आम्दानी बढाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ । राजधानी वीरेन्द्रनगरसँगको सम्पर्क सहज हुँदा नागरिकको समय, खर्च र जोखिमसमेत घट्ने अपेक्षा गर्न सकिन्छ ।

तर, विकासको वास्तविक उपलब्धि निर्माण सुरु हुनुमा होइन, निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुनुमा निर्भर हुन्छ । विजौरा क्षेत्रमा देखिएको विवाद, सडक निर्माणका क्रममा हुने ढिलाइ तथा बाँकी खण्डका कामले आयोजना व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखाउँछन् । ठेक्का सम्झौता गरेर मात्र नागरिकका अपेक्षा पूरा हुँदैनन् । सम्बन्धित निकायले नियमित अनुगमन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्छ । निर्माण व्यवसायीलाई जिम्मेवार बनाउँदै बजेटको सदुपयोग सुनिश्चित गर्नु राज्यको दायित्व हो । त्यस्तै, सडक र पुल बनेपछि तिनको दीर्घकालीन संरक्षण, उचित निकास व्यवस्था र वर्षायाममा हुन सक्ने क्षति न्यूनीकरणमा पनि ध्यान दिन आवश्यक छ । स्थानीय बस्ती, वातावरण र नागरिकको सुरक्षालाई बेवास्ता गरेर गरिने विकास दिगो हुन सक्दैन । सडकको पहुँचसँगै कृषि, पर्यटन, साना उद्योग र स्थानीय बजारको विकासलाई जोड्न सके मात्रै पूर्वाधारको प्रतिफल व्यापक बन्नेछ ।
पश्चिम सुर्खेतको विकास अब आश्वासनमा सीमित रहनु हुँदैन । निर्माणाधीन सडक र पुल समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनुका साथै बाँकी दुर्गम बस्तीलाई पनि यातायातको पहुँचमा ल्याउनुपर्छ । संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ । विकासको लाभ सबै नागरिकसम्म पुग्ने गरी योजना कार्यान्वयन गर्न सके सडक र पुलले पश्चिम सुर्खेतको मुहार मात्र होइन, समृद्धिको भविष्यसमेत बदल्न सक्नेछन् । त्यसैले, पश्चिम सुर्खेतमा अँझै पनि विकासका धेरै आयोजना अझै अधुरा छन्, तिनलाई पनि प्राथमिकताका साथ अघि बढाएर समयमै सम्पन्न गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । अधुरा आयोजनालाई पूर्णता दिँदै विकासको लाभ सबै नागरिकसम्म पु¥याउन सके मात्रै समृद्ध पश्चिम सुर्खेतको सपना साकार हुनेछ ।








