काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू विभिन्न विवादमा जोडिएपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अदालतको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गर्नुभएको छ। शुक्रबार नियमित इजलास सञ्चालन हुनुअघि बैठक बस्ने तयारी गरिएको छ।
पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयालको नाम बिचौलियाको आरोप लागेका इनम सापकोटासँग जोडिएपछि न्यायालयभित्रको विषयले चर्चा पाएको हो। यस विषयमा न्यायाधीश फुयालले सापकोटासँग आफूले मात्र नभई अन्य न्यायाधीशहरूले समेत सामूहिक रूपमा भेटघाट गरेको प्रतिक्रिया दिनुभएको थियो। उहाँको उक्त अभिव्यक्तिपछि न्यायाधीशहरूको भेटघाट र बाह्य व्यक्तिसँगको सम्पर्कबारे थप बहस सुरु भएको छ।
पछिल्लो घटनाक्रमले न्यायपालिकाको निष्पक्षता, पारदर्शिता र न्यायाधीशहरूको आचरणमाथि विभिन्न प्रश्न उठिरहेका बेला बोलाइएको फुलकोर्ट बैठकलाई चासोका साथ हेरिएको छ। बैठकमा सार्वजनिक विवाद, न्यायाधीशहरूसँग जोडिएका आरोप तथा त्यसबाट उत्पन्न परिस्थितिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।








