सुर्खेत । चाडपर्व नजिकिँदै गर्दा परिवारसँग भेटघाट र रमाइलो गर्ने चाहना सबैमा हुन्छ। तर वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा आश्रित केही ज्येष्ठ नागरिकका लागि दसैँतिहार आफन्तको सम्झनामा बित्ने गरेको छ।
आश्रमको प्रवेशद्वारमा कसैको पाइला सुनिनेबित्तिकै झ्यालतिर हेर्ने र आफ्ना मान्छे आए कि भन्ने आशा गर्ने उनीहरूको दैनिकी बनेको छ। ६९ वर्षीया लछिमाकुमारी गौतम विगत १२ वर्षदेखि प्रशान्ति वृद्धाश्रममा बस्दै आउनुभएको छ। चाडपर्वका बेला आफन्त भेट्न आउने आशा उहाँमा अझै मरेको छैन। यस वर्षको दसैँ पनि आफन्तको प्रतीक्षामै बित्यो। तिहार नजिकिँदै गर्दा उहाँका आँखा अझै आफ्ना परिवारका सदस्य खोजिरहेका छन्। वृद्धाश्रममा आएदेखि उहाँले आफन्तसँग बसेर दसैँतिहार मनाउने अवसर पाउनुभएको छैन।
आश्रममै जीवन बिताइरहनुभएका अर्का ज्येष्ठ नागरिक हुनुहुन्छ खड्कप्रसाद आचार्य। युवावस्थामा उहाँले भारतमा मजदुरी गरेर जीवन गुजार्नुभयो। विवाह नगर्नुभएका उहाँको उमेर बढ्दै जाँदा शारीरिक अवस्था कमजोर हुँदै गयो। आफन्त भए पनि नजिक आएर हेरचाह गर्ने कोही नहुँदा उहाँको सहारा वृद्धाश्रम बनेको छ। त्यस्तै, ५९ वर्षीया विष्णु तिवारी सात वर्षदेखि आश्रममा बस्दै आउनुभएको छ। रामेछापकी तिवारीलाई आश्रमले जीवनयापनको आधार दिएको छ। आश्रममा सुरक्षित र सहज महसुस भए पनि चाडपर्वका बेला घर फर्केर परिवारसँग समय बिताउने चाहना हुने उहाँ बताउनुहुन्छ।
दैलेखको गुराँस गाउँपालिकाका ७० वर्षीय टङ्कबहादुर डाँगी र उहाँकी ६३ वर्षीया श्रीमती खगिसरा डाँगी पनि प्रशान्ति वृद्धाश्रममै आश्रित हुनुहुन्छ। उहाँहरूका एक मात्र सन्तान रोजगारीका लागि भारत गएपछि सम्पर्कविहीन भएका छन्। घरमा हेरचाह गर्ने र सहारा दिने कोही नभएपछि वृद्ध दम्पती वृद्धाश्रममा बस्न बाध्य हुनुभएको हो।
यी ज्येष्ठ नागरिकका कथा वृद्धाश्रममा रहेका प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। आर्थिक अवस्था राम्रो भएका र परिवारका सदस्य हुँदाहुँदै पनि कतिपय वृद्धवृद्धा बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य छन्। परिवार र समाजबाट ज्येष्ठ नागरिकप्रति अपेक्षित माया, सम्मान र हेरचाह नहुँदा उनीहरू उपेक्षाको सिकार भइरहेका छन्। आफ्नै सन्तानले समेत वृद्ध आमाबुवालाई जिम्मेवारीभन्दा बोझका रूपमा हेर्ने प्रवृत्तिले उनीहरूको जीवन थप कष्टकर बनेको छ।
यस्तो अवस्थामा परिवार र समाजबाट टाढिएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम आश्रयस्थल बनेका छन्। आफन्तको साथ नपाएकाहरूले आश्रममै जीवनको बाँकी समय बिताउने सहारा पाएका छन्। प्रशान्ति वृद्धाश्रमले २०५४ सालदेखि असहाय तथा ज्येष्ठ नागरिकको सेवा गर्दै आएको छ। हाल आश्रममा २९ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन्। आश्रम सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक र भौतिक सहयोग प्राप्त हुँदै आएको छ।
आश्रम सञ्चालक समितिका उपाध्यक्ष शीतलसिंह राठौरका अनुसार ज्येष्ठ नागरिकको नियमित खर्च व्यवस्थापन गर्न करिब एक करोड रुपियाँको अक्षयकोष स्थापना गरिएको छ। उक्त कोषबाट प्राप्त हुने ब्याज रकम आश्रमका ज्येष्ठ नागरिकको आवश्यकतामा खर्च गरिँदै आएको छ।
त्यसैगरी, जन्मदिन, विवाह, वार्षिक तिथिलगायतका अवसरमा विभिन्न व्यक्तिले खाद्यान्न, नगद तथा अन्य सामग्री सहयोग गर्ने गरेका छन्। स्थानीय र प्रदेश सरकारले पनि आश्रमलाई सहयोग गर्दै आएका छन्। चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले आठ करोड रुपियाँ बजेट विनियोजन गरेको जानकारी आश्रमले दिएको छ। चाडपर्वमा घरपरिवार र आफन्तको साथ खोजिरहेका यी ज्येष्ठ नागरिकका लागि आश्रमले बास र गाँसको व्यवस्था त गरेको छ, तर आफन्तको माया र पारिवारिक आत्मीयताको अभाव भने अझै उनीहरूको जीवनमा खड्किरहेको छ।








