हुम्ला । हिमाली जिल्ला हुम्लामा लगातार तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन्।
शुक्रबार र शनिबार खराब मौसमका कारण उडान हुन नसकेको हुम्लामा आइतबार मौसम सफा भए पनि कुनै पनि उडान हुन सकेन। नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख जगत मल्लका अनुसार शुक्रबार बिहानैदेखि वर्षा सुरु भएपछि हवाई सेवा प्रभावित भएको हो।
शनिबार तारा एयरले नेपालगन्जबाट सिमकोटका लागि उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण उडान हुन सकेन। यसअघि शुक्रबार नेपाल वायुसेवा निगमको जहाज नेपालगन्जबाट सिमकोटका लागि उडेको भए पनि कालिकोट क्षेत्रमा मौसम खराब भएपछि बीच बाटोबाटै फर्किएको थियो।
सिमकोटमा वर्षा हुनुका साथै उडान मार्गको मौसमसमेत प्रतिकूल भएका कारण दुई दिनसम्म उडान सञ्चालन हुन नसकेको प्राधिकरणले जनाएको छ। आइतबार भने मौसम सफा रहे पनि उडान हुन सकेन। लगातार तीन दिनसम्म हवाई सेवा अवरुद्ध हुँदा हुम्लाबाट बाहिरिने र जिल्ला भित्रिने यात्रुहरू प्रभावित भएका छन्।








