२०८३ कात्तिक १५ , आइतबार

डोल्पामा फसेका ६ भारतीय पर्यटकको लोकेसन भेटियो, सेनाको हेलिकोप्टरबाट उद्दारको तयारी



वीरेन्द्रनगर । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ।

हिल्सा नाकामा हिमपात
हुम्ला,कार्तिक १४ रासस: शुक्रबार साँझबाट परेकाे अविरल वर्षासँगै हिमपातपछि शनिबार बिहान सेताम्मे हिल्सा नाका । तस्बिर कालीबहादुर थापा रासस

लगातारको हिमपातका कारण गन्तव्यतर्फ अघि बढ्न नसकेपछि पर्यटकहरू दानीगढ क्षेत्रमा फसेका हुन्। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको जानकारी शनिबार प्राप्त भएपछि उद्धारको पहल थालिएको थियो। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आइतबार हेलिकोप्टरमार्फत उद्धार कार्य अघि बढाइएको जानकारी दिइन्।

हिमपातका कारण स्थलमार्गबाट उद्धार गर्न कठिन भएपछि हेलिकोप्टरको सहयोग लिन लागिएको हो। उद्धार गर्न लागिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन्।

प्रतिकूल मौसमका कारण डोल्पाका उच्च हिमाली क्षेत्रमा जनजीवन र पर्यटकीय आवागमन प्रभावित भएको छ। जिल्ला प्रशासनले मौसमको अवस्था नबुझी उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र समस्या परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार