काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्।
आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स दिउँसो १२ः३० बजे आमनेसामने हुनेछन्। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ। एनपीएलमा दोस्रो खेल खेल्न लागेको काठमाडौं गोर्खाज पहिलो जितको खोजीमा छ।
यता कर्णाली याक्सले भने यसअघि खेलेका दुवै खेलमा जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको छ। त्यस्तै, तीन खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले एक खेलमा मात्र जित हासिल गरेको छ।
चितवन राइनोजले भने एक खेलमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अङ्क बाँडेको छ। आजका दुवै खेलले टोलीहरूको अंकतालिकामा सुधार गर्ने अवसर प्रदान गर्ने भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।








