हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको लिमी क्षेत्रका तीनवटै बस्तीका बासिन्दा यस वर्ष हिउँदमा खाद्यान्न अभाव हुने चिन्तामा परेका छन्।
हिउँदका छ महिनालाई पुग्ने खाद्यान्न समयमै भण्डारण गर्न नपाउँदै भारी हिमपात भएपछि लिमी प्रवेश गर्ने दुवै नाका बन्द भएका छन्। यसले स्थानीयवासीको खाद्यान्न व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। लिमीको तिल गाउँका स्थानीय छिङसोनाम लामाका अनुसार यस वर्ष खाद्यान्न अभावको समस्या देखिन थालिसकेको छ।
स्थानीयले चीनको ताक्लाकोटबाट हिउँदभरि पुग्ने खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री ल्याएर भण्डारण गर्ने तयारी गरे पनि भारी हिमपातका कारण एक महिनाभन्दा बढी समयदेखि सामान ढुवानी गर्न सकेका छैनन्। त्यसैगरी, स्थानीयले लगाएको उवा, फापर, नाफ र केराउलगायतका बाली पाकेर भित्र्याउने समयमा हिमपात भएपछि उत्पादनमा समेत क्षति पुगेको छ। बालीमा भएको क्षतिका कारण स्थानीयको खाद्यान्न व्यवस्थापनमा थप समस्या देखिएको लामाले बताउनुभयो।
लिमी क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउँदै आएको ढुवानी अनुदानको खाद्यान्नसमेत नियमित रूपमा पुग्न सकेको छैन। तीन वर्षदेखि प्रभावित हुँदै आएको उक्त ढुवानी सेवा पछिल्लो एक वर्षयता गाउँमा नपुगेपछि स्थानीयवासी थप समस्यामा परेका छन्। हल्जी गाउँका स्थानीय छिरिङ तुन्डुप तामाङले पनि यस वर्ष हिउँदका लागि आवश्यक खाद्यान्न जुटाउन नसकिएको बताउनुभयो।
असोज ९ देखि १२ गतेसम्म भएको हिमपातले लिमी आवतजावत गर्ने बाटो बन्द गरेको थियो। त्यसपछि शुक्रबार र शनिबार भएको थप हिमपातले अवस्था झन् कठिन बनाएको उहाँको भनाइ छ। सामान्यतया लिमीका बासिन्दाले हिउँद सुरु हुनुअघि नै छ महिनालाई पुग्ने खाद्यान्नको जोहो गरेर राख्ने गर्छन्।
तर, यस वर्ष समयमै खाद्यान्न ल्याउन नसक्दा घरमा रहेको पुरानो मौज्दातबाट गुजारा चलाउनुपर्ने बाध्यता रहेको तामाङले बताउनुभयो। उक्त मौज्दातसमेत सकिँदै गएकाले आगामी दिनमा खाद्यान्न अभाव झन् गम्भीर बन्न सक्ने उहाँको चिन्ता छ। यता, लिमीको जाङ गाउँमा पनि खाद्यान्नको समस्या देखिएको छ। गत वर्ष फागुनपछि गाउँ फर्किएका तीन घरधुरी अहिले खाद्यान्न अभावको जोखिममा छन्।
स्थानीय छिरिङ लामाका अनुसार आगामी मङ्सिरमा काठमाडौं फर्किने तयारीमा रहेका ती परिवार सडक बन्द भएपछि गाउँमै रोकिएका छन्। बाहिर जाने बाटो बन्द हुनु र घरमा पर्याप्त खाद्यान्न नहुनुले उनीहरूको अवस्था थप कठिन बनेको उहाँले बताउनुभयो। हिमपातका कारण सडक तथा आवतजावतका मार्ग बन्द हुनु, कृषि उत्पादनमा क्षति पुग्नु र सरकारी अनुदानको खाद्यान्न समयमै नपुग्नुले यस वर्ष लिमीका तीनवटै बस्तीमा हिउँदको खाद्यान्न व्यवस्थापन गम्भीर चुनौती बन्ने देखिएको छ।








