दैलेख। दैलेखको ठाँटीकाँध गाउँपालिका–२ प्याडुलीस्थित दशरथ माध्यमिक विद्यालयको निर्माणाधीन भवन छ वर्षदेखि अलपत्र परेको छ। निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा आठकोठे विद्यालय भवन अझै प्रयोगमा आउन सकेको छैन।
विद्यालय भवन निर्माणका लागि २०७६ सालमा सुर्खेतको विजय कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। कर्णाली प्रदेश सरकारले ७५ लाख र गाउँपालिकाले आठ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि निर्माण कार्यले पूर्णता पाउन नसकेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो। पर्याप्त बजेट उपलब्ध हुँदासमेत ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माण अलपत्र परेको उहाँको भनाइ छ। निर्माण कार्य अघि बढाउन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको प्रधानाध्यापक शाहीले गुनासो गर्नुभयो।
यस विषयमा २०८१ साल भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो। उजुरीपछि आयोगको टोली मङ्सिरमा विद्यालय पुगेर अनुगमन गरेको उहाँले जानकारी दिनुभयो। त्यस क्रममा आगामी पुस मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने सहमति भएको भए पनि तोकिएको समयभित्र काम सकिनेमा उहाँले आशङ्का व्यक्त गर्नुभयो।
विद्यालयका पुराना भवनसमेत जीर्ण अवस्थामा रहेकाले विद्यार्थीलाई पठनपाठनमा थप समस्या भइरहेको छ। पुराना कक्षाकोठामा बसेर पढ्न विद्यार्थी डराउने अवस्था रहेको प्रधानाध्यापक शाहीले बताउनुभयो। नयाँ भवन निर्माण सम्पन्न नहुँदा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई जम्मा नौ वटा कोठामा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। भवन निर्माणमा भएको लामो ढिलाइले विद्यार्थीको सहज र सुरक्षित शिक्षण सिकाइसमेत प्रभावित बनेको छ।








