काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नयाँ प्रतिभाका रूपमा उदाएका १६ वर्षीय राहुल यादव चर्चामा आएका छन्।
जनकपुर बोल्ट्सबाट खेलिरहेका उनले सुरुआती दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेटप्रेमीको ध्यान आकर्षित गरेका हुन्। राहुलले पहिलो खेलको पहिलो बलमै विकेट लिएका थिए भने दोस्रो खेलमा चार विकेट हात पार्दै प्लेयर अफ द म्याचसमेत बने। उनको प्रदर्शनपछि विभिन्न सञ्चारमाध्यममा उनको चर्चा र अन्तर्वार्ताका लागि चासो बढेको छ।
जनकपुर बोल्ट्सका टिम व्यवस्थापक अनुज जैसवालका अनुसार राहुललाई मधेश प्रदेशका विभिन्न जिल्लाबाट छनोट गरिएका ४ सय ४६ खेलाडीमध्येबाट ट्यालेन्ट हन्टमार्फत टोलीमा समावेश गरिएको हो। रौतहटमा आयोजित छनोट कार्यक्रममा कुनै लिग वा उमेर समूहको टोलीमा नरहेका खेलाडी सहभागी भएका थिए। उक्त छनोटबाट राहुलसहित ११ खेलाडी छानिएका थिए। उनीहरूलाई समेटेर डेभलपमेन्ट स्क्वाड निर्माण गरिएको थियो।
जनकपुर बोल्ट्सले यसअघि पनि ट्यालेन्ट हन्टमार्फत विशाल सुसलिङलाई टोलीमा समावेश गरेको थियो। यसपटक उनी अक्सनमार्फत टोलीमा फर्किएका छन्। पप्पु यादव पनि टोलीमा समावेश छन्। एनपीएलका अन्य फ्रेन्चाइज टोलीले पनि ट्यालेन्ट हन्टमार्फत नयाँ खेलाडी छनोट गरेका छन्।
कर्णाली याक्सले सुर्खेत र सल्यानमा आयोजना गरेको छनोटबाट दैलेखका हिक्मतबहादुर शाही, रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्कालाई छनोट गरेको छ। छनोट कार्यक्रममा सुर्खेतबाट २०६ र सल्यानबाट १०० भन्दा बढी खेलाडी सहभागी भएका थिए।
त्यस्तै, पोखरा एभेन्जर्सले स्याङ्जा र पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टमा सहभागी १५६ खेलाडीमध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी दुई टोली बनाएर प्रतिस्पर्धा गराएको थियो। त्यसबाट चार खेलाडीलाई प्रशिक्षण शिविरमा समावेश गरिएको थियो। तीमध्ये विश्वास पराजुलीलाई टोलीमा आइकोनिक खेलाडीका रूपमा राखिएको छ।
लुम्बिनी लाइन्सले प्रदेशका १२ जिल्लाका टोलीबीच प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा एकै खेलमा आठ विकेट लिएका १७ वर्षीय करण घर्ती मगरलाई टोलीमा समावेश गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्य तथा एनपीएल प्रतियोगिता निर्देशक धीरेन्द्र साउदका अनुसार पहिलो संस्करणदेखि नै नयाँ प्रतिभालाई अवसर दिन ट्यालेन्ट हन्टबाट कम्तीमा एक खेलाडी छनोट गर्नुपर्ने व्यवस्था गरिएको हो। उनका अनुसार यस व्यवस्थाले नयाँ खेलाडीलाई स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग एउटै टोलीमा रहेर अनुभव र सीप विकास गर्ने अवसर प्रदान गर्छ।
एनपीएलमा ट्यालेन्ट हन्टमार्फत नयाँ खेलाडीको सहभागिताले स्थानीय स्तरमा रहेका प्रतिभालाई राष्ट्रिय प्रतियोगितासम्म पुग्ने अवसर दिएको छ। राहुल यादवको पछिल्लो प्रदर्शनले यस्ता छनोट कार्यक्रमबाट आएका खेलाडीले पनि प्रतियोगितामा आफ्नो क्षमता देखाउन सक्ने उदाहरण प्रस्तुत गरेको छ।








