२०८३ कात्तिक १८ , बुधबार

टेलिकमको टावर बिग्रिँदा मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन



 हुम्ला । मुगुमा रहेको नेपाल टेलिकमको रिले टावरमा प्राविधिक समस्या देखिएपछि हुम्लाका तीन र मुगुको एक स्थानीय तहमा सञ्चार सेवा प्रभावित भएको छ ।

मुगुको सोरु गाउँपालिका–१ नाथर्पुस्थित नेपाल टेलिकमको रिले टावरमा गत १ कात्तिकदेखि समस्या देखिएको थियो । मर्मतपछि सञ्चालनमा आएको टावर पाँच दिन नबित्दै पुनः बिग्रिएपछि त्यस क्षेत्रका सेवाग्राहीले समस्या भोग्नुपरेको हो । टावरमा आएको खराबीका कारण हुम्लाका चंखेली, सर्केगाड र अदानचुली गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकाका नागरिक प्रभावित भएका छन् ।

चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले नेपाल टेलिकमको नेटवर्कमा पटकपटक समस्या दोहोरिँदा स्थानीयवासीको गुनासो बढ्दै गएको बताइन् । त्यस्तै, सर्केगाड गाउँपालिका–१ जैरको बेतालमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेपछि गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध भएको वडा नम्बर १ का सचिव पाण्डव बुढाले जानकारी दिए ।

टावरमा बारम्बार समस्या आउने गरेका कारण हुम्लाका तीन स्थानीय तहका नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ । नेपाल टेलिकम हुम्लाकी प्रमुख रिन्जिन लामाले मुगुको सोरुकोटस्थित रिले टावरमा समस्या आएको पुष्टि गर्दै प्राविधिक टोली परिचालन गरी मर्मतको काम भइरहेको जानकारी दिइन् ।

टावरको समस्या समाधान नहुँदासम्म प्रभावित क्षेत्रका सेवाग्राहीले नेपाल टेलिकमको सञ्चार सेवा सहज रूपमा प्रयोग गर्न पाउने अवस्था छैन ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार