रुकुम पश्चिम। नेपाल सरकारका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी आजरुकुम पश्चिम आउनुहुने भएको छ।

आमा समूह, विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने उद्देश्यले मन्त्री बादी जिल्लाको भ्रमणमा आउन लाग्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता पुस्तक चन्दका अनुसार मन्त्री बादीसहित सचिवालयको टोली आज बेलुका रुकुम पश्चिम पुग्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मन्त्री बादीले त्रिवेणी गाउँपालिकाको सिम्रुतु, सानीभेरी गाउँपालिकाको सिम्ली र चौरजहारी नगरपालिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको छ। आज बेलुका त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग भेटघाट तथा अन्तरक्रिया गरिनेछ।
त्यसैगरी, भोलि बिहीबार बिहान सानीभेरी गाउँपालिकामा सञ्चालित सामाजिक सुरक्षा तथा बाल संरक्षण कार्यक्रमको अनुगमन गर्ने कार्यक्रम रहेको छ। भ्रमणको दोस्रो दिन नै चौरजहारी नगरपालिकामा आमा समूह, विपद् प्रभावित महिला, बालबालिका, दलित समुदाय तथा बौद्धिक व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय भएको नेता चन्दले जानकारी दिनुभयो।
यस क्रममा जिल्लाका समस्या, गुनासा तथा रचनात्मक सुझाव मन्त्रीसमक्ष राख्न सकिने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले सम्बन्धित समुदाय तथा सरोकारवालालाई उपस्थितिका लागि आग्रह गरेको छ।








