काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुभएको छ।
आज बिहान काठमाडौं आइपुग्नुभएका विदेश सचिव मिश्रीले नेपाल आगमनलगत्तै परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग शिष्टाचार भेट गर्नुभएको हो। परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा छलफल भएको छ।
मन्त्रालयले जारी गरेको जानकारीअनुसार दुवै पक्षबीच नेपाल र भारतबीच रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको छ।
त्यसैगरी, आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।








