२०८३ कात्तिक १८ , बुधबार

पार्टीविरुद्धका भ्रम र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्छ ः विद्यादेवी भण्डारी



काठमाडौं। नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताउनुभएको छ।

बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेका नेपाली समुदायमाझ पार्टीका गतिविधि, उपलब्धि र राजनीतिक घटनाक्रमबारे सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो।

नेत्री भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा अघि बढिरहेको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा तथा सामाजिक–आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो। पार्टीले देश र जनताको हितमा गरेका काम तथा उपलब्धिको वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्न नहुने बताउँदै विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृतिलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभयो। विदेशमा रहेका नेपालीहरू सम्बन्धित देशमा नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने जनस्तरका प्रतिनिधि भएको उल्लेख गर्दै उहाँले आफू बसेको मुलुकको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी तथा व्यावसायिक दक्षताका साथ काम गर्न आग्रह गर्नुभयो।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोग्नुपरेका श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काममा लगाउनेजस्ता समस्या समाधान गर्न राज्यले विशेष पहल गर्नुपर्ने उहाँले बताउनुभयो। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गर्नुपर्ने, श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने उहाँको धारणा थियो।

विदेशमा समस्यामा परेका नेपालीलाई समयमै सहयोग, उद्धार तथा सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपालमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि जलविद्युत्, कृषि, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार, खनिज तथा पर्यावरणमैत्री पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने भण्डारीले बताउनुभयो।

स्वदेशी तथा विदेशी लगानी परिचालनमा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई उपयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो।

अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनको समापन समारोहलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार