काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको उचित प्रयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनी शासन र नैतिक आचरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सुशासन लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको त्याग र बलिदानको मुख्य उद्देश्य पनि जनउत्तरदायी शासन व्यवस्था निर्माण गर्नु रहेको बताए ।
जनताका अपेक्षा र आवश्यकता पूरा गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पदलाई व्यक्तिगत सुविधा नभई जनसेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे । राष्ट्रपति पौडेलले प्रशासकीय भवनलाई भौतिक संरचनाका रूपमा मात्र नभई नागरिकले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र तथा स्थानीय लोकतान्त्रिक शासनको आधारस्तम्भका रूपमा व्याख्या गरे ।
उनले नवनिर्मित भवनबाट प्रदान गरिने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री हुने विश्वास व्यक्त गरे । प्रशासकीय भवन आधुनिक हुँदैमा मात्र पर्याप्त नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रशासनिक कार्यशैलीसमेत प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।








