२०८३ कात्तिक १७ , मंगलबार

जिप जाँच गर्दा भेटिए डोल्पा कारागारबाट फरार दुई कैदी



सुर्खेत। डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट उनीहरू पक्राउ परेका हुन्। चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा प्रहरीले दामाचौरबाट आठबिसकोट नगरपालिका–९, राडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गरेको थियो।

जिप जाँचका क्रममा दुई जनाले भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनीहरू कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको प्रवक्ता राठौरले जानकारी दिए। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्।

दुवै जना जबर्जस्ती करणीसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई हाल गोतामकोट प्रहरी चौकीमा राखिएको छ। डोल्पा कारागारबाट फरार भएका आठ कैदीमध्ये हालसम्म दुई जना पक्राउ परेका छन्। बाँकी फरार कैदीको खोजी कार्य जारी रहेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार