२०८३ कात्तिक १८ , बुधबार

मुगुबाट पहिलोपटक अन्य जिल्लाका नागरिकलाई पनि नागरिकताको प्रतिलिपि



मुगु । नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ ले गरेको व्यवस्थाअनुसार मुगुबाट पहिलोपटक अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि जारी गरिएको छ।

नियमावलीको नियम १६ (घ) मा अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि जारी गर्न सकिने व्यवस्था भएबमोजिम छिमेकी जिल्ला जुम्लाका एक नागरिकलाई मुगुबाट नागरिकताको प्रतिलिपि प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ का प्रकाश बुढालाई जिल्लाबाट पहिलोपटक नागरिकताको प्रतिलिपि जारी गरिएको हो।

हाल मुगुको छायाँनाथ रारा नगरपालिका–२ मा बसोबास गर्दै आएका बुढाले जिल्ला प्रशासन कार्यालय मुगुबाटै नागरिकताको प्रतिलिपि प्राप्त गरेका हुन्। यसअघि नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्ला नै पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले अन्य जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकलाई समेत सेवा लिन सहज भएको छ।

नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि बुढाले नयाँ व्यवस्थाले आफूजस्ता अन्य जिल्लामा बसोबास गर्ने नागरिकलाई ठूलो राहत मिलेको बताए।उनले नागरिकताको प्रतिलिपि लिनकै लागि सम्बन्धित जिल्ला पुग्नुपर्ने बाध्यता हट्दा समय र यातायात खर्च दुवै बचत भएको बताए।

नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ को नयाँ व्यवस्थाले सेवाग्राहीलाई सहज बनाउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार