सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीमध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन्। मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाबाट थप दुई जना पक्राउ परेसँगै अब चार जना फरार रहेका छन्।
बुधबार बिहान ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेका छन्। उनीहरू पक्राउ परेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।
यसअघि मंगलबार रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना रहेका छन्।
कारागारबाट फरार भएकामध्ये अब चार जना पक्राउ पर्न बाँकी छन्। फरार रहनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी रहेका छन्।
गत १४ कात्तिक राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ। पक्राउ पर्न बाँकी चार जनाको खोजी कार्य जारी रहेको छ।








