२०८३ कात्तिक १८ , बुधबार

जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु, आरोपित फरार



 सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ।

जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ। मंगलबार साँझ जुनीचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा भएको घटनामा गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।

घटनाको सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ। घटनापछि आरोपित बले थापा फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार