२०८३ कात्तिक १८ , बुधबार

मौसम पूर्वानुमान ः तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु–कुहिरो



काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। यसका कारण दैनिक जनजीवनका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार (कात्तिक १८) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, बिहीबार (कात्तिक १९) देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। बिहीबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

शुक्रबार (कात्तिक २०) र शनिबार (कात्तिक २१) पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यी दुई दिन तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। शनिबार पनि देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार