२०८३ कात्तिक १८ , बुधबार

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते



धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । त्यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् ।

स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइरहेका छन् । घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताए । प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

प्रहरीका अनुसार बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार