२०८३ कात्तिक २० , शुक्रबार

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते



बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिकै सौडानी खोलामा जिप दुर्घटना भएको हो। डडेल्धुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनाश राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन्।

घाइते सबैको मेलौलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार