काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पार्टीगत तथा समूहगत स्वार्थभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शाहीले सरकारमा कसलाई राख्ने र कसलाई हटाउने भन्ने विषयमा अल्झिनुभन्दा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने, उनीहरूको अवैध सम्पत्ति जफत गर्ने र देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले अपराधमा संलग्न व्यक्तिको राजनीतिक आबद्धता, समूह वा व्यक्तिगत सम्बन्ध नहेरी निष्पक्ष रूपमा कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ। शाहीले भन्नुभएको छ, ‘कसलाई निकाल्नुपर्छ निकाल्नुस्, कसलाई राख्नुपर्छ राख्नुस्। तर भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्यो। उनीहरूको अवैध सम्पत्ति जफत गर्नुपर्यो। देशमा रोजगारी सिर्जना गर्नुपर्यो।’
उहाँले अपराधमा संलग्न जोसुकै भए पनि आफ्नो र पराइ नभनी कानुनी कारबाही अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ। भ्रष्टाचार नियन्त्रणमा पार्टी वा आफ्नै समूहको आबद्धतालाई आधार बनाउन नहुने उहाँको भनाइ छ।
त्यस्तै, शाहीले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित सरकारले काम गर्नुपर्ने बताउनुभएको छ। देशमै पर्याप्त रोजगारी सिर्जना गरी युवालाई आफ्नै मुलुकमा श्रम र सीप प्रयोग गर्ने वातावरण बनाउनुपर्ने उहाँको जोड छ।
‘अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा विदेशमा गएर पसिना बगाउन नपरोस्, अर्काको देशमा श्रम गर्न बाध्य हुन नपरोस्। प्रधानमन्त्रीज्यू, जनताको अपेक्षा यत्ति हो,’ शाहीले सामाजिक सञ्जालमा लेख्नुभएको छ। शाहीले भ्रष्टाचार नियन्त्रण, अवैध सम्पत्ति जफत, सुशासन र स्वदेशमै रोजगारी सिर्जनालाई सरकारको प्रमुख प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो।








