२०८३ कात्तिक १९ , बिहीबार

एनपीएलमा आज डबल हेडर : लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै



काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल मध्याह्न १२ बजे सुरु हुनेछ।

जितको लयलाई निरन्तरता दिँदै अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यसहित लुम्बिनी मैदान उत्रनेछ। यता, पछिल्लो खेलमा बेहोरेको हारलाई बिर्सेर जितका साथ पुनरागमन गर्ने योजनामा जनकपुर रहेको छ।

यसैगरी, आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। साँझ ५ बजे सुरु हुने उक्त खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी थप मजबुत बनाउने लक्ष्यमा रहनेछन्। आजका दुवै खेलले टोलीहरूको अंकतालिकाको अवस्थालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार