काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रियालाई लिएर सरकारसँग प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउँदा प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव परेको छ भन्ने प्रश्न उठाएका हुन्। उनले आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढाएको हो वा घटाएको भन्दै सरकारसँग जवाफ मागेका छन्। साथै, नयाँ प्रहरी प्रमुखको नियुक्तिमा बिचौलियाको भूमिका थियो कि थिएन भन्ने विषयमा समेत उनले प्रश्न गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन ?’ कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरिएपछि सरकारको निर्णयबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यही विषयमा साम्पाङले पनि नियुक्ति प्रक्रियाको पारदर्शिता र प्रहरी संगठनको मनोबलबारे प्रश्न उठाएका हुन्।








