काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार चौधरीको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो। राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका चौधरीलाई उनका साथी सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि कार्की फरार भएका थिए।
प्रहरीका अनुसार दुवै जना साथी हुन्। शनिबार उनीहरू सँगै बसेर मदिरा सेवन गरेका थिए। मदिरा सेवनकै क्रममा उनीहरूबीच विवाद भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। सोही क्रममा कार्कीले आफ्नो मोटरसाइकलमा हाल्नका लागि बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका कार्कीको खोजी भइरहेको छ।







